धनुषा र सिरहाका मालपोत कर्मचारी अख्तियारको फन्दामा

काठमाडौं । सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा गरेर बेचेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा र सिरहा मालपोतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय धनुषाका तत्कालीन शाखा अधिकृत रामनरेश राय, नायव सुब्बा परमेश्वरप्रसाद शाह, अरुणकुमार ठाकुर, मोहनदत्त कायस्थ र मालपोत कार्यालय सिराहाका नायवसुब्बा मुकुन्दप्रसाद कोइराला, गंगाप्रसाद शाह, हरिनारायण ठाकुर, खरीदार राजकिशोर चौधरी, लेखापढी व्यवसायी गुरुदयाल यादव, जानकरी शरण यादव, र पंचा महतो कोइरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । विशेष अदालतमा दायर गरिएको अभियोगमा जनाइएअनुसार धनुषा बसहिया ९ स्थित १ विघा ३ कठ्ठा १५ धुर जग्गा रवि गिरीका नाममा रहेको र उनको ०२९/३० सालतिर मृत्यु भएपछि गुठी संस्थानको नाममा दाखिल खारेज गर्न बाँकी थियो । सिन्धुली निपाने १ का अम्बर गिरीको नागरिकतामा अम्बरको स्थानमा रवि र वीरबहादुरको स्थानमा राम गिरी बनाई मालपोत कार्यालय धनुषाबाट ०६६ साल पुस २८ गते लालपूर्जा बनाई ५ लाख २२ हजार ५ सयमा किनबेच भएको थियो । उक्त जग्गा मोलपोत कार्यालय सिराहामा रजिष्ट्रेसन पास गराई धनुषाबाट पंचा महतो कोइरीका नाममा रजिष्ट्रेशन गरिएको थियो । गुठीको जग्गा व्यक्तिका नाममा दर्ता तथा भोगचलन गराई भ्रष्टाचार गरेको पाइएकाले ५ लाख २२ हजार ५ सय बिगो र हदैसम्मको कारवाही माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.