१५ दिनभित्र विमानस्थल सुधारेर देखाउन लोकमानको निर्देशन

१० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राम्रो काम गरेको खण्डमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा यात्रुहरुको गुनासो र उजुरी ७५ प्रतिशत घट्ने बताउनुभएको छ । उहाँले १५ दिनभित्र देखिने गरी सुधार गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ । वैदेशिक रोजगारीका लागि आवत जावत गर्नेहरुबाट गुनासा र उजुरीहरु आएको भन्दै अयोगले सोमबार विमानस्थलभित्रै रहेको भन्सार कार्यालयभित्रै गरेको अन्तरक्रिया कार्यक्रममा लोकमानले यस्तो बताउनुभएको हो । अन्तरक्रियामा गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयका सचिवहरु, वैदेशिक रोजगार विभाग, भन्सार विभाग एवं अध्यागमन विभागका महानिर्देशकहरुको सहभागिता थियो । साथै विमान सुरक्षा गार्ड गौचरका प्र.ना.म.नि., नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका महाप्रबन्धकका साथै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारी एवं त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखको समेत कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा प्रमुख आयुक्त कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बद्ध निकायहरुबाट प्रवाहित सेवामा धेरै बेथितिहरु रहेको र सेवाग्राहीले यथोचित सेवा प्राप्त गर्न नसकेको बताउनुभएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रमुख आयुक्त कार्कीले पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित समितिले दिएको सुधार प्रतिवेदनमा आधारित रहेर १५ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा जनसाधारणले सुधारको महसुस गर्ने गरी समन्वयात्मक रुपमा कार्य गर्न ध्यानाकर्षण गराउनुभएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । अन्तरक्रिया कार्यक्रममा अख्तियारमा आयुक्त केशव बरालले विमानस्थलबाट रोजगारीका सिलसिलामा अनियमित ढंगले बाहिर जाने कार्य भइरहेको प्रति संवेदनशील हुन कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभएको छ ।
source:onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.