केटी जिस्क्याउँदा बस खस्यो !

 सिन्धुपाल्चोक- हिमाली गाउँ भोताङबाट बुधबार बिहान नौ बजे बस गुड्नुअघि यात्रु र चालकबीच विवाद भयो। विवादको कारण थियो, चालकले छेउमै बसेकी युवती जिस्काए। सामुन्नेमा गाउँकी चेली जिस्काएको सहन नसकेपछि केही युवाले चालकलाई गालीगलौज गरे। चालकले पनि जवाफ फर्काए। दुवै पक्षबीच भनाभन भयो।

विवादकै बीच मलीन अनुहारमा चालकले अघि बढाएको बा२ख ३६४५ नम्बरको यात्रुबस आठ किलोमिटर गुडेपछि थाङपालकोट–१ सल्लेडाँडाको फराकिलो घुम्ती नमोडिई सिधै भिरबाट खस्दा १४ यात्रुको ज्यान गएको छ। ३२ यात्रु घाइते भए। गम्भीर अवस्थाका २० घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

'समथर सडकको फराकिलो घुम्तीबाट बस कसरी खस्यो, अचम्ममा परेका छौं,' दिनभर उद्धारमा खटिएका स्थानीय शिक्षक विनोद केसीले भने, 'दुर्घटना भनेर पत्याउन सकिरहेका छैनौं।' बस भिरबाट खसेपछि पहिलो बल्ड्याङ खानुअघि नै चालक हाम फालेर फरार भएका छन्।

११ यात्रुको घटनास्थलमै, एकको उद्धारपछि र तीनको उपचारको क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतापकुमार गुरुङले बताए। भोताङबाट ज्यामिरेको सिम्लेबेसी आउँदै गरेको आमा ह्योल्मो यातायातको उक्त बस गुडेको एक घन्टापछि १० बजेतिर सडकबाट खसेर आठ–नौ पटक बल्ड्याङ खाँदै करिब २ सय मिटर तल अनकन्टार भिरको खोंचमा पुगेको थियो। खोंचमा काफलको रुखले बस अड्याएको छ। प्रत्यक्षदर्शीका अनुसार छतमा बसेका ६ जनाले हाम्फालेर ज्यान जोगाएका छन्। उनीहरु सकुशल घर फर्के।

प्रहरीका अनुसार मृतक सबैको खनाखत भएको छ। मृत्यु हुनेमा गुन्सा–८ का सञ्जय भनिने छोटे तामाङ (२०), बरुवा–१ का रवि थिङ, भीमे थिङ, भोताङ–२ का सिनेन लामा (३०), नोर्की लामा, सीतामाया तामाङ, भोताङ–३ का बुद्धे तामाङ (३२), भोताङ–५ को देउ तामाङ, भोताङ–९ का छिरिङ लामा, ज्यामिरे–७ का ङिमा शेर्पा, थाङपालकोट–५ की मिठु सापकोटा (२७), थाङपालकोट–६ का निमाग्याल्मो तामाङ, (४२), थाङपालकोट–३ की पीतादेवी बस्नेत (२४), रणबहादुर पण्डित (४५) र सविना पण्डित (२१) छन्। घाइते पीतादेवीको उद्धार गरी उपचारका लागि काठमाडौं लैजान थाङपालधाप उच्च मावि पुर्‍याइएपछि मृत्यु भएको हो। सीतामायाको शिक्षण अस्पताल महाराजगञ्ज तथा छिरिङ र देउको बि एन्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बाँकी शव बसले किचिएको ठाउँबाट निकालिएको थियो। पण्डितद्वय बाबुछोरी हुन्। मृतक सविनाले मंगलबार मात्र गाउँमा टोली आएको मौका छोपी नागरिकता बनाएकी थिइन्। मृतक सिनेन, सीतामाया र नोर्की एकै परिवारका हुन्। उनीहरु नातामा ससुराबुहारी हुन्।

डिएसपी गुरुङका अनुसार शिक्षण अस्पतालमा २७, अल्का अस्पतालमा तीन र एकजनाको बि एन्ड बीमा उपचार भइरहेको छ। २० घाइतेको अवस्था चिन्ताजनक छ। अल्कामा रमेश श्रेष्ठ, डोल्मा तामाङ, कान्छी तामाङ तथा बि एन्ड बीमा हिमाल गुरुङको अवस्था गम्भीर छ। शिक्षणमा १६ जना गम्भीर छन्। शिक्षणमा विक्की तामाङ, कमल बस्नेत, दिनेश राउत, उर्मिला श्रेष्ठ, केशरमाया तमाङ, शेर्पा खातुन, चोकबहादुर लामा, बुद्धमणि गोले, मेन्दो तामाङ, देवकी लामा, सुभाष श्रेष्ठ, तेम्बा शेर्पा, अप्सरा वाइबा, राजु शेर्पा, यसकुमार डंगोल, गणेश तामाङ, राम्री तामाङ, सञ्जय स्याङ्वो, सुनमाया तामाङ, मिर्गे लामा, माइला तामाङ, करुणा सापकोटा, सरिता तामाङ, विशाल तामाङ, भरतकुमार पुन, निरमाया लामा र कृष्ण थापाको उपचार भइरहेको छ।

मेलम्ची–भोताङ सडक बिग्रेर एम्बुलेनस जान नसकेपछि घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले दुई खेपमा काठमाडौं लगेको थियो। उद्धारपछि छिमेकी थाङपालधाप माविको प्रांगणमा पुर्‍याइएका घाइतेलाई हेलिकप्टरले प्राथमिकताका आधारमा लगेको थियो। पहिलो चरणमा गम्भीर घाइते २३ र पछि थप ११ लाई लगिएको थियो। दिउँसो २ बजेमात्र हेलिकप्टर घटनास्थल आइपुगेको थियो।

पोहोर बर्खामा ज्यामिरेको सिम्लेवेसीमा पहिरोले लगेपछि मर्मत गरिएको सडक झरिले फेरि बिगारेपछि १० दिनदेखि सिधा भोताङ–काठमाडौं यातायात बन्द भएको छ। भोताङबाट सिम्लेवेसीसम्म बसमा आउने यात्रु त्यहाँबाट अर्को गाडी चढेर मेलम्ची, सदरमुकाम चौतारा र काठमाडौं पुग्छन्। त्यहाँ सडक मर्मत पनि भइरहेको छ।

दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गर्दै उद्धार थालेका थिए। बस भिरमा अड्किएकाले गाउँले सुरुमा उद्धारमा अल्मलिएका थिए। मानेखर्क, तिपेनी चौकी, इलाका प्रहरी कार्यालयको प्रहरी टोली, तिपेनीबाट पुगेको नेपाली सेनाको टोली र नागरिकता टोलीको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी उद्धारमा खटिएका थिए। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामप्रसाद चुँडालीले घटनास्थलमै पुगेर घाइतेको प्रारम्भिक उपचार गरेका थिए।

प्रत्यक्षदर्शी र उद्धारकर्ताले घटना हुनुको दुईटा कारण औंल्याएका छन्। पहिलो, विवादपछि चालक बाँसबारी गाविस सिन्धुखोलाका माइला तामाङले बदलामा जानाजान बस भिरबाट खसालेको। दोस्रो, विवादपछि तनावमा रहेका चालकले नियन्त्रण गुमाउँदा घुम्तीमा मोड्न बिर्सेको। प्रत्यक्षदर्शीका अनुसार विवादपछि अनुहार मलिन बनाएका चालक तनावमा देखिन्थे। स्थानीयका अनुसार ५० भन्दा बढी यात्रु बोकेको बस कहिले तीव्र र कहिले मन्द गतिमा कुदिरहेको थियो। 'युवती जिस्काएको निहुँमा दुर्घटना हुनु अघिसम्म विवाद भइरहेको थियो,' छतबाट हाम फालेर बाँचेका यात्रुको भनाइ उद्धृत गर्दै शिक्षक केसीले भने। प्रहरीले भने दिनभर शव संकलन र घाइतेको उद्धार गर्नुपर्दा दुर्घटनाको कारण पत्ता लगाउन फुर्सद नै पाएन। डिएसपी गुरुङले वर्षाले हिलाम्मे सडकमा चालकले घुम्ती मोड्न नभ्याउँदा दुर्घटना भएको अनुमान गरे।

मृतक र घाइते मेलम्ची बजार र काठमाडौं जान हिँडेका थिए। घटनास्थलमा आफन्तको रुवाबासी चलेको थियो। घटनास्थल सदरमुकाम चौताराबाट ११ कोस र मेलम्चीबाट करिब १६ किमी टाढा पर्छ। मृतकको शव थाङपालधाप उच्च माविको प्रांगणमा राखिएको छ।

राति अबेर यो समाचार तयार पार्दासम्म शव पोस्टमार्टमका लागि मेलम्चीबाट चिकित्सक टोली पुगे पनि विवादले काम सुरु हुन सकेको छैन। पीडितले ५ लाखका दरले क्षतिपूर्ति मागेर मोस्टमार्टम गर्न दिएका छैनन्। बस कम्पनी आमा ह्योल्मोले मृतकका परिवारलाई किरियाखर्च बापत प्रति मृतक २५ हजार र यात्रुबिमा वापत १ लाख रुपैयाँ दिने भने पनि आफन्तले मानेका छैनन्। दुर्घटनापछि घटनास्थल पुगेका सहायक प्रमुख जिल्ला अधिकारी ओमकारप्रसाद न्यौपाने, पूर्वसभासद् दावा तामाङ, कांग्रेस नेता बद्रि चौलागाईं, आमो ह्योल्मोका अध्यक्ष कान्छाराम तामाङ, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुदिप पाठक वार्ता मिलाउन प्रयासरत छन्। 
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.